बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरुले सुरक्षा माग गर्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । ओपीडी लगायतका उपचार सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेका छन् ।
उपचारका क्रममा बाँकेको बैजनाथ गाउँपालिका वडा नं ६ निवासी ६२ वर्षीया दिलसरा विकको १३ वैशाखमा मृत्युपछि मृतकका आफन्तले चिकित्सक र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीलाई ज्यान मार्ने धम्की दिँदै दुर्व्यवहार गरेको भन्दै चिकित्सकहरुले अत्यावश्यक बाहेकका सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
मृतकका आफन्तहरुको समूहमाथि कारबाही र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग चिकित्सकहरुले राखेका छन् ।
भेरी पश्चिम नेपालकै सबैभन्दा ठूलो र विशिष्टकृत सेवा प्रदान गर्ने संघीय अस्पताल हो । भेरी अस्पतालमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पुग्ने गर्छन् ।










