नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्युन रहेको छ ।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डा.अनुज भट्टचनले आन्द्रा महासागर क्षेत्रमा सञ्चालनमा रहेको एक पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण देखिएपनि नेपालमा यसको जोखिम अत्यन्त न्युन रहेको जानकारी दिए ।
उनका अनुसार उक्त भाइरस हालसम्म दक्षिण अमेरिकी क्षेत्रमा पाइने विशेष प्रकारका मुसामा मात्र सीमित रहेको छ।
उनले भने,“हान्टाभाइरस समूहको “एन्डिज भाइरस”बाट सङ्क्रमित हुने मुसा नेपालमा सामान्यतया नपाइने भएकाले नेपालमा यसको तत्काल जोखिम अत्यन्त न्युन रहेको छ ।”
हालसम्म सङ्क्रमित देखिएको पानीजहाजमा कुनै पनि नेपाली नागरिकले यात्रा गरेको पुष्टि नभएको उनको भनाइ छ । साथै, सो पानीजहाज बाहेक अन्य कुनै व्यक्ति वा क्षेत्रमा हान्टा भाइरस सङ्क्रमण फेला नपरेको बताइएको छ।
उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय हवाई मार्ग तथा स्थलगत नाकामा निगरानी र स्वास्थ्य सतर्कता बढाइएको छ।
कुनै सङ्क्रमित व्यक्ति फेला परेमा तत्काल उपचार तथा व्यवस्थापन गर्न देशका विभिन्न अस्पताललाई तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।
यो कस्तो भाइरस हो ?
हान्टाभाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया सङ्क्रमित मुसाको पिसाब, दिसा, र्याल वा तिनीहरूले दूषित बनाएको वातावरणसँगको सम्पर्कमा आउँदा मानिसमा सङ्क्रमण हुन सक्छ ।
वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा सङ्क्रमण सीमित अवस्थामा मात्र सम्भव हुन्छ र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सङ्क्रमणको सम्भावना रहन्छ ।
यो रोगबाट बच्न घर तथा वरपरको वातावरण सफा राख्ने, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्ने, मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गर्ने, हात साबुनपानीले नियमित धुने बानी बसाल्न उनको आग्रह छ ।
ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्था जान चिकित्सकको सुझाव छ ।










