मलेसियन दूतावासले मलेसियामा रोजगारीका लागि जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण हाल पनि सीमित स्वास्थ्य संस्थामार्फत मात्रै भइरहेको जनाएको छ।

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा खुला प्रतिस्पर्धा लागू गर्दै मापदण्ड पूरा गरेका सबै स्वास्थ्य संस्थालाई अनुमति दिने प्रक्रिया अघि बढाएको भए पनि दूतावासले भने ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै परीक्षण भइरहेको स्पष्ट पारेको हो।

श्रमिक स्वास्थ्य परीक्षणसम्बन्धी व्यवस्था विस्तार गर्न सरकारले २०८२ चैत १७ गते मन्त्री स्तरीय निर्णयमार्फत इच्छुक स्वास्थ्य संस्थासँग आवेदन आह्वान गरेको थियो। त्यसअनुसार ५३ वटा स्वास्थ्य संस्थाले निवेदन दिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। आवेदन दिने संस्थामध्ये दुई सरकारी अस्पताल र ५१ निजी स्वास्थ्य संस्था रहेका छन्।

मन्त्रालयका अनुसार विशेषज्ञ समितिबाट मूल्यांकन सम्पन्न भएपछि योग्य संस्थालाई स्वास्थ्य परीक्षण सञ्चालनको अनुमति प्रदान गरिनेछ।

यद्यपि, दूतावासले सार्वजनिक सूचनामार्फत मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण ‘बायो मेडिकल सिस्टम’ (बीएमएस)अन्तर्गत तोकिएका ३६ संस्थाबाट मात्र सञ्चालन भइरहेको जनाएको छ।

दूतावासले सन् २०१८ अक्टोबर २९ मा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी पत्र अनुसार उक्त व्यवस्था कार्यान्वयनमा रहेको उल्लेख गरेको छ।

सूचनामा नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य परीक्षण शुल्कबाहेक बीएमएस सेवा शुल्क स्वरूप ३ हजार रुपैयाँ लाग्ने जनाइएको छ। उक्त रकम रोजगारदाताले व्यहोर्ने प्रावधान रहेको पनि दूतावासले स्पष्ट पारेको छ।

दूतावासका अनुसार नेपालमा बीएमएस प्रणाली सञ्चालन, शुल्क संकलन तथा रकम कानुनी प्रक्रियामार्फत पठाउने जिम्मेवारी म्याक्रो टेक प्रालि र बेस्टिनेट एसडीएन. बीएचडी लाई दिइएको छ। दूतावासले यी संस्थाले नेपाल-मलेसिया श्रम समझदारीअनुसार कार्य गरिरहेको दाबी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर