आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी खेलमा नेपालले अमेरिकालाई ३१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१७ रन बनायो । यो नेपालले ओडीआईमा बनाएको दोस्रो ठूलो स्कोर हो ।
नेपालका लागि इशान पाण्डे र उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । इशानले ८४ रनको उत्कृष्ट ब्याटिङ गरे । उनले ८३ बलमा ८ चौका र एक छक्का प्रहार गरे । इशानले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका हुन् ।
उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग ११० रनको शतकीय साझेदारी गरे । कप्तान रोहित ५९ बलमा ४६ रन बनाएर आउट भए । त्यसअघि आसिफ शेख र कुशल भुर्तेलले ६९ रनको ओपनिङ साझेदारी गरेका थिए ।
कुशलले २९ र आसिफले ४३ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका दीपेन्द्रले ३६ बलमा ५९ रन बनाए । उनले समान ४ चौका र छक्का प्रहार गरे । गुल्सन झा १५, नन्दन यादव एक र सोमपाल कामी ५ रन बनाएर आउट हुँदा आरिफ शेख १७ रनमा अविजित रहे ।
बलिङमा अमेरिकाका शुभम रन्जानेले २ विकेट लिँदा मिलिन्द कुमार र रुशिल उगारकरले १-१ विकेट लिए ।
कीर्तिपुरमा भने नेपालको यो हालसम्मकै सर्वाधिक योगफल हो । यसअघि नेपालले सन् २०२३ को एसीसी प्रिमियर कपमा ओमान विरुद्ध ३१० रनको योगफल बनाएको थियो ।










