ललितपुर महानगरपालिका-१५ स्थित ज्ञाननगर क्षेत्रमा जिपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार सर्लाही स्थायी घर भई हाल ललितपुरको हात्तिवनमा बसोबास गर्दै आएका अनिरुद्र प्रसाद साहकी ८ वर्षीया छोरी रोशनी साहको उपचारका क्रममा निधन भएको हो।
शनिबार अपराह्न करिब ३:३० बजे ज्ञाननगर टोलमा सडक पार गर्ने क्रममा प्रदेश १-०३३ च ८७८० नम्बरको जिपले उनलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि बी एण्ड बी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा शनिबार साँझ करिब ७ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न जिप चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका- घर भई हाल ललितपुरको हात्तिवन बस्ने २१ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










