जाजरकोटमा हाइस गाडी दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । छेडागाड नगरपालिका–१३, कार्कीगाउँदेखि नेपालगन्जतर्फ गइरहेको लु.प्र. ०१००१ ख. ०१९७ नम्बरको फोर्स गाडी आज बिहान मध्यपहाडी सडक अन्तर्गत भेरी नगरपालिका-८, चौखे ढुङ्गा भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिरकुमार खड्काका अनुसार बिहान ८ बजे दुर्घटनाको खबर पाएलगत्तै प्रहरी चौकी जगतीपुरबाट घटनास्थलमा पुगेर घाइतेलाई एम्बुलेन्समार्फत जिल्ला अस्पताल जाजरकोटमा ल्याएर उपचार भइरहेको जानकारी दिए । सबै घाइतेहरूको खतरामुक्त रहेको जिल्ला अस्पताल जाजरकोटले जानकारी दिएको छ ।

गाडीमा सवार ८ जना मध्ये गाडी चालक वर्ष २६ का खिमराज केसी सकुसल रहेको र अन्य सातै जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूमा भेरी नगरपालिका–७ का वर्ष २७ की भावना विक, वर्ष २६ का आशिष विक वर्ष २८ कि तिर्सना विक, वर्ष २५ की लिला विक रहेका छन ।

त्यस्तै, भेरी ९ का वर्ष २२ का कमल परियार, वर्ष २६ का कमलराज घर्ती, भेरी १० का वर्ष २७ का तुल्सा मल्ल शाही रहेका छन । दुर्घटना कसरी भएको सम्बन्धमा थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर