दक्षिण एसियाली राष्ट्रहरूको सबैभन्दा ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा बङ्गलादेश टोलीसँग भिड्न नेपाली महिला राष्ट्रिय फुटबल टोली पूर्ण रूपमा तयारी अवस्था छ।

सन् २०१० देखि आयोजना हुँदै आएको यस च्याम्पियनसिपको करिब १६ वर्षको यात्रामा नेपाल सदैव सेमिफाइनलमा पुगेको छ । यस अवधिमा कयौँपटक उपविजेता बन्दा नेपालले प्रतियोगिताको उपाधि भने जित्न सकेको छैन। पछिल्लोपटक बङ्गलादेशले नेपाललाई टक्कर दिँदै पछि पार्दै आएको छ।

विगत पाँच वर्षयता नेपाल बङ्गलादेशसँग पराजित हुँदै आएको छ। साफ च्याम्पियनसिपको सुरुआती यात्रादेखि निरन्तर सन् २०२१ सम्म बङ्गलादेशलाई हराउँदै आएको नेपाल त्यसपछि भने पराजित हुँदै आएको हो। पछिल्लो तथ्याङ्कअनुसा जम्माजम्मी १३ खेलमध्ये नेपालले छ खेलमा विजय हासिल गर्दा बङ्गलादेशले पाँच खेलमा जित हासिल गरेको छ। यसैगरी, दुई खेल बराबरीमा टुङ्गिएको छ।

सन् २०२२ मा भएको साफ च्याम्पियनसिपको फाइनलमा बङ्गलादेशले नेपाललाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो। सन् २०२४ को साफ च्याम्पियनसिपमा पनि बङ्गलादेशले नेपालाई नै हराउँदै लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधि उचाल्यो।

सोही हारहरूको बदला लिँदै आज नेपाल बङ्गलादेशसँग भिड्दै छ। भारतको गोवास्थित पण्डित जवाहरलालनेहरु रङ्गशालामा हुने उक्त खेल स्थानीय समयअनुसार अपराह्न ४ः०० बजे हुनेछ।

नेपाली महिला टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले बङ्गलादेशविरुद्ध आफ्नो टोली शारीरिक र मानसिक रूपमा बलियो भएको बताए। प्रतियोगिताको सुरुआती खेलमा गोवाको अत्यधिक गर्मी र आद्र्रताका कारण खेलाडीमा थकान देखिए पनि दोस्रो खेलसम्म आइपुग्दा टोलीले मौसमसँग आफूलाई अभ्यस्त बनाइसकेको उनले बताए।

प्रशिक्षक न्यौपानेले बङ्गलादेशविरुद्धको खेल अघिल्ला खेलभन्दा कठिन हुने उल्लेख गर्दै उत्कृष्ट प्रदर्शनका लागि सबै खेलाडी तयार रहेको जानकारी दिए। “बङ्गलादेश बलियो टोली हो। उसविरुद्ध ‘टफ फाइट’ दिन हामीले पूर्ण ऊर्जा र अनुशासनका साथ खेल्नुपर्छ । खेलाडीहरू मानसिक र शारीरिक रूपमा तयार छन्”, उनले भने।

हालै टोलीमा आबद्ध भएकी ‘मिडफिल्डर’ प्रिती राईको आगमनले टोलीको मनोबल थप उच्च भएको मुख्य प्रशिक्षक न्यौपानेको भनाइ छ।

कम्बोडियामा खेलिसकेकी प्रितीलाई गोवाको मौसममा खेल्न समस्या नहुने विश्वास व्यक्त गर्दै उहाँले प्रितीको बल वितरण क्षमता टोलीका लागि महत्त्वपूर्ण हुने बताए।

“प्रितीको विशेषता भनेकै राम्रो सप्लाइ हो। उनले अवसर सृजना गर्न सक्छिन्। अबको खेलमा सृजना भएका अवसरलाई सदुपयोग गर्न सक्नुपर्छ, नत्र हामीलाई कठिन हुन्छ”, उनले भने।

प्रिती सेमिफाइनदेखिको खेलका लागि गोवा आइपुगेकी हुन् । उनी कम्बोडियाको क्लबमा आबद्ध भएका कारण दुई दिनअघि मात्र गोवा आइपुगेकी हुन्। प्रशिक्षक न्यौपानेले टोलीले सङ्गठित र ‘कम्प्याक्ट डिफेन्स’सहित ‘काउन्टर’ आक्रमणमा जोड दिने योजना रहेको बताए।

पछिल्ला दुई खेलमा दायाँ विङबाट धेरै आक्रमण भएको र बायाँ पक्षबाट अपेक्षित क्रस आउन नसकेको स्वीकार गर्दै उनले त्यसमा सुधारका लागि प्रशिक्षण भइरहेको जानकारी दिए।

‘फिटनेस’को विषयमा बोल्दै उहाँले तीन साताको तयारीपछि टोली राम्रो अवस्थामा रहेको बताए। सुरुआती खेलमा मौसमसँग अभ्यस्त हुन केही समस्या भए पनि हाल खेलाडीहरू पूर्ण रूपमा तयार रहेको न्यौपानेको भनाइ छ।

बङ्गलादेशबारे विश्लेषण गर्दै प्रशिक्षक न्यौपानेले उक्त टोली सङ्क्रमणकालीन चरणमा रहेको उल्लेख गरे। “बङ्गलादेशमा नयाँ र अनुभवी खेलाडीको मिश्रण छ। अपेक्षाअनुसारको प्रदर्शन भने देखिएको छैन, तर उनीहरू शारीरिक रूपमा निकै बलिया छन्। त्यसैले हामी सचेत भएर खेल्नुपर्छ”, उनले भने।

नेपाली दर्शकको समर्थनले खेलाडीहरूमा अतिरिक्त ऊर्जा थपिने र सेमिफाइनलमा जित निकालेर फाइनलयात्रा तय गर्ने नेपाली टोलीको लक्ष्य छ। न्यौपानेले भने, “चेलीहरूलाई साथ र समर्थनको आवश्यकता छ । दर्शकको माया र समर्थनले छुट्टै ऊर्जा दिन्छ। हामी जित निकालेर फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौँ ।”

समूह चरणको खेलमा नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई एक शून्य गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको थियो। त्यसैगरी समूहको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई दुई शून्य गोलअन्तरले पाखा लगाउँदै प्रतियोगिताको सेमिफाइनलयात्रा तय गरेको हो।

श्रीलङ्काविरुद्धको खेलमा नेपाली टोलीको कप्तानको भूमिकामा आबद्ध भएकी रेनुका नगरकोटीले आफ्नो करिअरकै एतिहासिक गोल गरेकी छन्। साफ च्याम्पियनसिपको सुरुआतदेखि नै टोलीमा आबद्ध उनले आफ्नो करिअरकै पहिलो गोल गरिन्। खेलको ६०औँ मिनेटमा करिब २२ यार्ड टाढाबाट उत्कृष्ट चिप प्रहार गर्दै गोल गरिन्। श्रीलङ्काविरुद्धको उक्त खेलमा नेपालले दुई शून्य गोलको जित निकालेको थियो।

बङ्गलादेशले समूह चरणको खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो भने भारतसँग हार व्यहोरेको थियो। विभिन्न छ राष्ट्र सहभागी च्याम्पियनसिपमा नेपाल, बङ्गलादेश, भारत र भुटानले सेमिफाइनलयात्रा तय गरेका छन्। जसमा नेपाल समूह ‘ए’ विजेता हो भने बङ्गलादेश समूह ‘बी’को उपविजेता हो। त्यसैगरी, भारत समूह ‘बी’को विजेता बन्दा भुटान समूह ‘ए’को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।

प्रतियोगितामा श्रीलङ्का र माल्दिभ्स भने समूह चरणबाटै बाहिरिएका छन्। आजै हुने भारत र भुटानबीचको दोस्रो सेमिफाइन खेल राति ८ः०० बजे हुनेछ। विगत १६ वर्षदेखि उपाधिको नजिक पुगेर पनि खाली हात फर्किएको नेपाली टोली यसपटक इतिहास बदल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर