राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक विवाद सडकमा ओर्लिएको छ । रास्वपा बारा जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई केन्द्रीय नेतृत्वले मान्यता नदिएको भन्दै असन्तुष्ट नेता तथा कार्यकर्ताहरूले पार्टीको केन्द्रीय कार्यालय अगाडि विरोध प्रदर्शन र धर्ना सुरु गरेका छन् ।
जिल्ला अधिवेशनको वैधानिकतालाई लिएर सिर्जना भएको विवादपछि आक्रोशित बनेको बाराको टोली काठमाडौँ आइपुगेको हो । धर्नामा सहभागी नेता-कार्यकर्ताहरूले लोकतान्त्रिक प्रक्रिया र विधिमार्फत निर्वाचित कार्यसमितिलाई केन्द्रले उपेक्षा गरेर अन्याय गरेको आरोप लगाएका छन् ।
विरोध प्रदर्शनमा उत्रिएका बाराका नेताहरूले जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वैधानिकतालाई तत्काल स्वीकार गर्नुपर्ने र उनीहरूलाई जिम्मेवारी हस्तान्तरण गरिनुपर्ने माग अघि सारेका छन् । पार्टीभित्रै आन्तरिक लोकतन्त्रको नारा दिने नेतृत्वले तल्लो तहको जनमतलाई कदर नगरेसम्म धर्ना र विरोधका कार्यक्रम जारी रहने चेतावनीसमेत उनीहरूले दिएका छन् ।










