ऐतिहासिक तथा सांस्कृतिक जिल्ला नुवाकोटको विदुर नगरपालिकामा आजदेखि ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता-२०८३’ सुरू हुँदैछ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा हुने प्रतियोगितामा देश तथा विदेशबाट छनोट भएका १८ उत्कृष्ट टोलीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगरका अनुसार प्रतियोगिता शुक्रबार, शनिबार र आइतबार गरी तीन दिनसम्म विदुर नगरपालिकास्थित इलम प्रशिक्षण केन्द्रमा सञ्चालन हुनेछ।

नेपाली लोक संस्कृति संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सातै प्रदेशबाट छनोट भएका १४ टोली, उपत्यका समन्वय समितिका २ टोली तथा विदेश शाखाबाट छनोट भएका २ टोली गरी कुल १८ टोली सहभागी छन्।

प्रतियोगितामा प्रथम हुने टोलीले रनिङ शिल्डसहित नगद ३ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टोलीलाई २ लाख रूपैयाँ, तृतीयलाई १ लाख रूपैयाँ तथा सान्त्वना पुरस्कारस्वरूप ५० हजार रूपैयाँ प्रदान गरिनेछ।

यसका अतिरिक्त उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशाशित गायक–गायिका तथा उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने कलाकारलाई समेत विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। दोस्रो दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठ तथा समापन समारोहमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम तय छ।

मूल समारोहको संयोजक प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगर रहेकी छन् भने सह–संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उप-संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी रहेका छन्। सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका छन् भने कार्यक्रम निर्देशकको भूमिका उज्वलजंग ठकुरीले निर्वाह गर्नेछन्।

कार्यक्रमको अनुमानित बजेट ६८ लाख ४० हजार रूपैयाँ रहेको छ। आयोजकका अनुसार प्रतियोगितालाई प्रत्यक्ष रूपमा करिब २० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर