राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। आयोगले राहदानी खरिदसम्बन्धी प्रकरणमा अनुसन्धान अघि बढाउने क्रममा अर्याललाई सोमबार(हिजो) नियन्त्रणमा लिएको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।

ती स्रोतका अनुसार अर्यालसँगै व्यवसायी सिद्धार्थ थापा पनि पक्राउ परेका छन्। थापा राष्ट्रिय सभा सदस्य सुनील थापाका छोरा हुन्।

अख्तियार स्रोतका अनुशार राहदानी विभागसँग सम्बन्धित खरिद प्रक्रियाको छानबिनका क्रममा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी दिएको छ। उनीहरूलाई सादा पोशाकमा खटिएका सुरक्षाकर्मीमार्फत नियन्त्रणमा लिइएको बताइएको छ।

यद्यपि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस विषयमा हालसम्म औपचारिक विज्ञप्ति जारी गरेको छैन। अनुसन्धानको दायरा, नियन्त्रणमा लिनुको आधार तथा उनीहरूमाथि लाग्न सक्ने अभियोगबारे पनि आयोगले सार्वजनिक रूपमा कुनै विवरण दिएको छैन।

राहदानी विभाग पछिल्ला वर्षहरूमा विद्युतीय राहदानी (ई–पासपोर्ट) सम्बन्धी खरिद, आपूर्ति र व्यवस्थापन प्रक्रियाका कारण सार्वजनिक चासोको विषय बन्दै आएको छ। सार्वजनिक खरिदसँग सम्बन्धित विषयमा विभिन्न समयमा प्रश्न उठ्दै आएका थिए।

आयोगले सम्बन्धित कागजात संकलन, बयान तथा अन्य प्रमाणहरूको परीक्षणमार्फत अनुसन्धानलाई अघि बढाइरहेको स्रोतहरूले बताएका छन्। अनुसन्धान जारी रहेकाले यस प्रकरणबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर