संघीय सरकारको स्वास्थ्य मन्त्रालयले देशभर एन्टी–रेबिज भ्याक्सिनको अभाव नभएको दाबी गरिरहे पनि नेपालगन्जस्थित भेरी अस्पतालमा पछिल्ला केही महिनादेखि रेबिजविरुद्धको खोपको चरम अभाव देखिएको छ।
सेवाग्राहीलाई अस्पतालबाट निःशुल्क रूपमा प्रदान गरिने एन्टी–रेबिज भ्याक्सिनको अभावका कारण कुकुरले टोकेका बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ।
अस्पतालमा खोप उपलब्ध नभएपछि निःशुल्क पाइने भ्याक्सिनसमेत सेवाग्राहीलाई बाहिरबाट खरिद गर्न लगाएर लगाउने गरिएको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले बताए।
उनका अनुसार अस्पतालमा दैनिक ५० भन्दा बढी सेवाग्राही कुकुरले टोकेको भन्दै एन्टी–रेबिज भ्याक्सिन लगाउन आउने गरेका छन्। तर खोपको अभावका कारण उनीहरूलाई बाहिरबाट खरिद गर्न पठाउनुपरेको उनले जानकारी दिए।
एन्टी–रेबिज भ्याक्सिनको अभावले विशेषगरी विपन्न तथा आर्थिक अवस्था कमजोर भएका सेवाग्राही बढी प्रभावित भएका छन्। अस्पताल विकास समितिको सहयोगमा केही खोप खरिद गरी निःशुल्क वितरण गरिए पनि आर्थिक अभावका कारण निरन्तरता दिन नसकिएको सूचना अधिकारी डा. रिसालले बताए ।
भेरी अस्पतालको मेडिकल स्टोर प्रमुख भवानीप्रसाद यादवका अनुसार रेबिजविरुद्धको खोप अस्पतालले आफैं खरिद गरेर उपलब्ध गराउने होइन, संघीय तथा प्रदेश सरकारमार्फत प्राप्त डोज आवश्यकताअनुसार वितरण गर्ने गरिएको छ।
निःशुल्क पाइने खोप खरिद गर्न बाध्य पारिएको भन्दै सेवाग्राहीले असन्तुष्टि जनाउँदै झगडा गर्न आउने गरेको अस्पतालको ड्रेसिङ रुम इन्चार्ज कृष्ण बुढाथोकीले बताए ।
उनले भने, “निःशुल्क पाइने एन्टी–रेबिज भ्याक्सिन खरिद गर्न पठाइयो भन्ने बुझाइले सेवाग्राही झगडा गर्न आउँछन्। हाम्रो काम केवल सुई लगाइदिने हो।”
कुकुरले टोकेपछि लगाइने रेबिजविरुद्धको खोप भेरी अस्पतालमा प्रायःजसो अभाव हुने गरेको छ। निःशुल्क उपलब्ध हुनुपर्ने खोप किनेर लगाउनुपरेको भन्दै सेवाग्राहीले गुनासो गरेका छन्।
अस्पतालले खोपको मौज्दात सकिएकाले संघीय वा प्रदेश सरकारबाट थप आपूर्ति नआएसम्म निःशुल्क सेवा दिन नसकिने स्पष्ट पारेको छ।
हाल भेरी अस्पतालमा दैनिक ७० देखि ७५ डोजसम्म रेबिजविरुद्धको खोप प्रयोग हुने गरेको अस्पतालका ड्रेसिङ रुम इन्चार्ज बुढाथोकीले बताए।










