विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला एकाईले मंगलबार गरेको विषादी अवशेष परीक्षणको क्रममा रायो सागमा अत्यधिक मात्रामा विषादी हालेको भेटिएको छ।
भक्तपुर मध्यपुर थिमि नगरपालिकाबाट बिक्रीका लागि मंगलबार कालीमाटी बजार ल्याइएको रायो सागमा ८०.०१६० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
प्रयोगशालाले उक्त दिन कालिमाटी बजारमा भित्रिएका विभिन्न १२ वटा तरकारीका नमुनाहरूको परीक्षण गरेको थियो। जसमध्ये अन्य ११ वटा नमुनाहरू (रायो साग, हरियो प्याज, निगुरो, काँक्रो, हरियो धनियाँ, घिरौँला र गोलभेडा) मा विषादीको मात्रा सुरक्षित वा उपभोग योग्य सीमाभित्र (३५ प्रतिशतभन्दा कम) पाइएको छ। ती ११ वटा तरकारीहरू बजारमा बिक्री–वितरणका लागि योग्य ठहरिएका छन्।
कालीमाटीमा भित्रिने तरकारीमा विषादीको मात्रा जाँच गर्ने क्रममा यो प्रतिवेदन आए लगत्तै प्रयोगशालाले आवश्यक कारबाहीका लागि केन्द्रीय कृषि प्रयोगशाला, हरिहर भवन र कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई पत्राचार गरिसकेको छ। उपभोग अयोग्य तरकारी बजारमा बिक्री हुन नदिन र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी यस्ता परीक्षणहरू नियमित रूपमा गरिँदै आएको प्रयोगशालाले जनाएको छ।










