धनुषाको धनुषाधाम नगरपालिका–९, धारापानीस्थित पूर्वपश्चिम लोकमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । दुर्घटनामा परेर बसमा सवार १४ जनामध्ये तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले सोमबार राति करिब १ बजे काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३८४३ नम्बरको बस अनियन्त्रित भएर सडकछेउ पल्टिएर दुर्घटना बताए ।

दुर्घटनामा बस चालक झापाको मेचीनगर नगरपालिका–७, निवासी ३५ वर्षीय सन्तुलाल चौधरी घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । चालक चोधरीको जनकपुरधामस्थित साई ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यस्तै, भारत निवासी ४० वर्षीय सन्दीप पाठक र उनको श्रीमती ३५ वर्षीया सुनिता क्षेत्रीको चोटपटक लागेको छ । दुवै जनाको धनुषाको वीरेन्द्रबजारस्थित कमलामाई अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार सकुशल रहेका ११ यात्रुलाई अर्को बसमार्फत गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर