देशका विभिन्न स्थानमा लगातारको वर्षा, बाढी, पहिरो तथा सडक मर्मत कार्यका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीले मंगलवार जारी गरेको सूचना अनुसार कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।

कोशी प्रदेशको भोजपुर मध्य पहाडी लोकमार्ग अन्तर्गत भोजपुर नगरपालिका–५, जोखिममा असार १२ गते आएको बाढीका कारण सडक प्रभावित भएको छ। हाल उक्त सडक एकतर्फी सुचारु गरिएको छ भने वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।

यसैगरी, बागमती प्रदेशका काभ्रेपलाञ्चोकमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै असार २२ गतेदेखि बि.पी.राजमार्ग सडक खण्डमा खुर्कोट(नेपालथोक–कटुञ्जेबेंसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको कुलेखानी फाखेल हुमाने फर्पिङ काठमाडौँ सडक खण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–२ र ४ महालक्ष्मी क्षेत्रमा सडक मर्मत कार्य भइरहेकाले यातायात पूर्ण रूपमा अवरोध भएको छ। यो सडक खण्ड असार २५ गतेसम्म बन्द रहने जनाइएको छ।

लुम्बिनी प्रदेशको रोल्पामा रुकुम घोराही सहिद मार्ग अन्तर्गत माडी गाउँपालिका–६ हार्निङमा असार २२ गते गएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ।

कर्णाली प्रदेशको रुकुम पश्चिममा भेरी करिडोर अन्तर्गत आठबिसकोट नगरपालिका–६, रिजेगार्ड खोलामा असार १७ गते आएको बाढीका कारण सडक पूर्ण रूपमा अवरोध भएको छ।

जाजरकोट–डोल्पा सडक खण्ड अन्तर्गत नलगाड नगरपालिका–८ मालुवामा आजै (असार २३ गते)गएको पहिरोका कारण सडक यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ।

पूर्ण रूपमा अवरुद्ध भएका सडक खण्डहरूमा यात्रा गर्दा वैकल्पिक मार्गको प्रयोग गर्न वा सडक सुचारु भए–नभएको निश्चित गरेर मात्र यात्रा तय गर्न नेपाल प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर