नेपालको क्यान्सर उपचारको क्षेत्रमा एक ऐतिहासिक फड्को मार्दै भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरले विश्वव्यापी रूपमा प्रभावकारी मानिएको अत्याधुनिक ‘कार टी सेल’ (केमिरिक एन्टिजिन रिसेप्टर-टी सेल) थेरापी सेवा प्रारम्भ गरेको छ।
सेन्टरले शनिबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरी केही दिनमै रक्तजन्य क्यान्सर (ल्युकेमिया र लिम्फोमा) बिरामीमा यो थेरापी प्रयोग गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।
यो प्रविधि भित्रिएसँगै नेपाल कार टी सेल उत्पादन गर्ने संसारका सातवटा मुलुकहरू र यो सेवा उपलब्ध गराउने करिब ३५ वटा देशहरूको सूचीमा पर्न सफल भएको छ ।
सेन्टरका अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार ‘सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपाल’ नामक कम्पनीले नेपालमै उत्पादन गरेको कार टी सेललाई बिरामीमा प्रत्यारोपण गर्न लागिएको हो। यो विशेष र जटिल प्रविधि भएको हुनाले यसको शुभारम्भ र विकासका लागि भारत तथा जर्मनीका प्राविधिक टोलीहरूसँग सहकार्य गरिएको छ।
नेपालमै यो सेवा सुरु भएपछि क्यान्सर उपचारका लागि विदेश धाउनुपर्ने नेपाली बिरामीहरूको बाध्यता हट्ने र ठूलो राहत मिल्ने विश्वास लिइएको उनले जानकारी दिए।
‘कार-टी सेल थेरापी सुरु गर्ने काठमाडौं क्यान्सर सेन्टर नेपालकै पहिलो संस्था हो,’ उनले भने, ‘हामीले क्यान्सर उत्पादनमा नेपालमै यो सहित अन्य थुप्रै नयाँ र आधुनिक उपचार पद्धति भित्र्याएका छौं।’
नेपालमा यस उपचारका लागि बिरामीले ४५ लाख रुपैयाँ तिर्नुपर्ने सेन्टरले जनाएको छ, जुन छिमेकी मुलुक भारतको तुलनामा निकै कम हो। भारतमा यो सेवाका लागि ५० लाख भारतीय रुपैयाँदेखि एक करोड भारतीय रुपैयाँसम्म खर्च लाग्ने बताइएको छ।
‘हामीले विगत २ वर्षदेखि कार-टी सेल थेरापी सेवा सुरु गर्नका लागि आवश्यक तयारी अगाडि बढाएका थियौं,’ डा झाले भने, ‘अस्पतालमा यो सेवा सुरु गर्नका लागि आवश्यक पूर्वाधारदेखि प्रविधिको तयारी र जनशक्तिलाई तालिमदिने देखि आवश्यक सबै तयारी गरेका थियौं। सबै तयारी पूरा भएपछि हामी सेवा सुरु गर्न सक्षम भएका हौं।’










