कुशल भुर्तेलको शतकमा नेपालले जर्सीविरुद्धको अभ्यास खेलमा सहज जित निकालेको छ ।

नेदरल्यान्ड्समा जुलाई २१ तारिखदेखि सुरु हुने आइसिसी क्रिकेट विश्वकप लिग–२ का लागि खेलिएको पहिलो अभ्यास खेलमा नेपालले जर्सीलाई ८१ रनले हराएको हो ।

जितका लागि दुई सय ५१ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जर्सी ४१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ६९ रनमा समेटिएको थियो । जर्सीका लागि चार्ली बेरनानले सर्वाधिक अविजित ८२ रन जोडे ।

हारिसन कारलियनले २० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा नेपालका लागि हेमन्त धामीले चार विकेट लिए । आरिफ शेखले तीन तथा करण केसीले दुई विकेट लिए ।

यसअघि ओपनर कुशल भुर्तेलको शतकमा नेपालले ४९.५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ५० रन बनाएको थियो । नेपालका लागि कुशलले एक सय पाँच रन बनाए । उनले एक सय १७ बलमा १३ चौका हानेका थिए ।

यस्तै भीम सार्कीले ३९,अर्जुन कुमालले ३२, आशिफ शेखले १६, कप्तान रोहित पौडेलले १५, सन्दीप लामिछाने अविजित १३ र आरिफ शेख ११ रन बनाए।

बलिङमा जर्सीका ड्यानियल बिरेल, बेन्जामिन वाड र निक ग्रिनउडले दुई दुई विकेट लिए । विश्वकप लिग–२ को यस सिरिजका नेपालसहित आयोजक नेदरल्यान्ड्स र नामिबियाबिच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर