प्रतिनिधि सभाका सांसदहरूले सुकुम्वासीका समस्या तत्काल सम्बोधन गरी उचित व्यवस्थापनको माग गरेका छन् ।
प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले आसनबाट उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बोल्न समय दिँदा सुकुम्वासी समस्या समाधानसहित समसामयिक विषयमा भनाइ राखेका हुन् ।
सांसद गणेशसिंह ठगुन्नाले सुकुम्वासीको समस्या बेलैमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । साथै उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले केही समयअघि सदनमा सीमा सम्बन्धमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरे ।
सांसद रमेशकुमार मल्लले केही दिनअघि आत्मदाह गरेका गणेश नेपालीप्रति महानगरीय प्रहरीले देखिएको व्यवहार दु:खद् भएको उल्लेख गर्दै अब यस्ता घटना दोहोरिन नदिन सरकारसहित सम्बद्ध सबै सचेत हुनुपर्ने धारणा व्यक्त गरे ।
सांसद आरेन राईले सीमा विवादसम्बन्धी प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति गलत भएको टिप्पणी गदै मुलुकका श्रमिक, गरिब, सुकुम्वासीका हकहितका पक्षमा काम गर्न सरकारसँग अनुरोध गरे ।
सांसद ज्ञानबहादुर शाहीले आम नागरिकको बाँच्न पाउने आधार खोसिन नहुने बताउँदै गणेश नेपालीको आत्मदाहलाई रुखो व्यवहारले प्रोत्साहन गरेकाले त्यसमा संलग्न दोषीलाई कारबाही गर्न माग गरे ।
सांसद निष्कल राईले लोकतन्त्रको गहना भनेकै जबाफदेहिता र प्रश्न गर्ने अधिकार रहेको बताउँदै जनताको अभिव्यक्ति स्वतन्त्रतामा कुनै किसिमको बन्देज लगाउन नपाइने उल्लेख गरे । उनले एउटा नागरिकले आफ्नो ज्यान गुमाउन बाध्य हुनुपर्ने घटनाका बारेमा सरकार संवेदनशील हुनुपर्ने बताए ।










