ललितपुर महानगरपालिकाले आगामी साउन १ गतेदेखि घर–घरमा नै स्वास्थ्य सेवा दिने भएको छ।
महानगरले हटलाइन नम्बर ११३१ मा फोन गरेपछि एम्बुलेन्स, चिकित्सक, नर्स तथा आवश्यक औषधिसहितको टोली घरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए।
घरमै स्वास्थ्यकर्मीहरूले आवश्यक परीक्षण र परामर्श गर्ने र उपचार सम्भव नभएको अवस्थामा महानगरकै एम्बुलेन्सले बिरामी र परिवारले चाहेको अस्पतालमा पुर्याउने मेयर महर्जनले जानकारी दिए।
‘कसैको घरमा बिरामी पर्दा हटलाइन नम्बर ११३१ मा फोन गर्नेबित्तिकै मेडिकल सामग्रीसहितको टोली घरमै पुगेर उपचार सेवा दिन्छ,’ मेयर महर्जनले भने, ‘घरमै उपचार सम्भव नभएको अवस्थामा अन्य अस्पतालसम्म महानगरले नै पुर्याउने व्यवस्था गर्छ।’
यसले नागरिकलाई छिटो र सहज रूपमा स्वास्थ्य सेवा दिने मेयर महर्जनको दाबी छ। महानगरपालिकाले स्वास्थ्य बीमामा ४० देखि १०० प्रतिशतसम्म अनुदान, पूर्ण खोप सुनिश्चितता, दीर्घरोगीलाई निःशुल्क औषधि वितरण जस्ता कार्यक्रम ल्याएको छ।
हाल महानगरपालिकामा २ लाख ९४ हजार नागरिक छन्। ललितपुर महानगरपालिकाका सूचना अधिकारी देव गुरागाईं आगामी आर्थिक वर्षका लागि घरमा नै स्वास्थ्य सेवा दिने विषय महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको बताउँछन्।
हालसम्म बिरामीले फोन गरेपछि एम्बुलेन्स जाने र बिरामीले चाहेको अस्पतालमा महानगरको एम्बुलेन्सले पुर्याइदिने गरेकोमा आगामी साउन १ गतेदेखि मेडिकल टिम, चिकित्सक, नर्ससहित घर–घरमा पुग्ने नीति ल्याइएको उनले जानकारी दिए।
सामान्य औषधि उपचारपछि पनि अस्पताल लैजानुपर्ने भएमा बिरामी र आफन्तले जान चाहेको अस्पतालसम्म महानगरले पुर्याइदिने समेत व्यवस्था गरिएको उनी बताउँछन्।
‘कुनै निश्चित अस्पताल लैजान हामीले भन्दैनौँ,’ उनले भने, ‘जुन अस्पताल लैजान बिरामी र उनका आफन्त इच्छुक हुन्छन्, एम्बुलेन्सले त्यहीँ पुर्याउने हो।’
अस्पताल नलगी नै उपचार हुने अवस्थामा मेडिकल टिमले औषधिसहितको स्वास्थ्य सेवा घरमा नै दिने तथा अस्पताल लानुपरे बिरामीको स्वास्थ्यमा थप जटिलता नआउने गरी अस्पतालसम्म छोडिने उनले जानकारी दिए।
मेडिकल टिमसहित जाने भएकोले प्रारम्भिक प्रकारका सबै स्वास्थ्य सेवा समेटिने उनी बताउँछन्।
उनले भने, ‘सुगर, प्रेसर जस्ता सामान्य परीक्षणसहित प्रारम्भिक उपचार समेत हाम्रो टिमले दिन्छ।’हाललाई आवश्यकता अनुसार चिकित्सक, मेडिकल टिम तथा औषधिका लागि बजेटको व्यवस्थापन गरिएको उनले जानकारी दिए।
पैसा अभावमा यो कार्यक्रम प्रभावित नहुने उनको दाबी समेत छ। हाल ललितपुर महानगरसँग ३ वटा एम्बुलेन्स रहेका छन्। १ एम्बुलेन्स पुरानो भएकोले अहिलेलाई २ वटा एम्बुलेन्सबाट मात्रै सेवा दिन सकिने उनले जानकारी दिए। आगामी दिनमा थप २ एम्बुलेन्स ल्याउनका लागि कुराकानी भइरहेको उनी बताउँछन्।










