मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानमा वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो र राति देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। पहाडी भू–भागका धेरै स्थानमा तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा अन्य हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थान र मधेश तथा कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
भारी वर्षाका कारण पहिरो, गेग्रान बहाव, बाढी तथा सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले जोखिम क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।










