न्यायपरिषदले करिव ११ महिनामै विशेष अदालतको नेतृत्व परिवर्तन गरेको छ । बिहीबारको न्यायपरिषद बैठकले गत वर्ष भदौमा जिम्मेवारी पाएका विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा गरेको हो ।
उनको ठाउँमा हाल सर्वोच्च अदालतमा काजमा रहेका उच्च अदालतका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न सिफारिस गरिएको छ । सरकारले न्यायपरिषदको परामर्शमा विशेष अदालतको अध्यक्ष तोक्ने कानूनी व्यवस्था छ ।
न्यायाधीश सुदर्शनदेव भट्टको सरुवापछि विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्यलाई तोक्न न्यायपरिषदले सरकारलाई परामर्श दिएको छ । अध्यक्षको सिफारिसमा परेका आचार्य उच्च अदालत बुटबलमा न्यायाधीश थिए, जो पछिल्लो समय सर्वोच्च अदालतमा काजमा काम गरिरहेका थिए ।
उच्च अदालत तुलसीपुरको बुटबल इजलासका न्यायाधीश आचार्य गत ३ पुसको आदेशपछि चर्चामा आएका थिए । न्यायाधीश आचार्य र तेजनारायण पौडेलको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनाबाट छाड्न आदेश दिएको थियो ।
उक्त इजलासले बैंक जमानत बापत पेश गरेको रकम सुरक्षित गर्न, धरौटी रकम स्विकार गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनाबाट छाड्न आदेश दिएको थियो । त्यतिबेला उच्च अदालतले जिल्लाकै आदेश उल्ट्याएको थियो ।
त्यो आदेशपछि जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेले पेश गरेको दुई करोड ७४ लाख रुपैंया बैंक ग्यारेन्टी स्विकार गरेर उनलाई थुनामुक्त गरेको थियो । थुनामुक्त भएपछि रविले राजनीतिक सक्रियता बढाएर बालेन शाहको समूहसँग एकिकरण गरी गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा होमिएका हुन् । त्यसको केही महिनामा न्यायाधीश आचार्य बुटबलबाट सरुवा भएर सर्वोच्च अदालतमा काजमा आएका थिए ।










