अघिल्लो दिन जम्मा ७.५० अंक बढेको सेयर बजार शुक्रबार ७९.७४ अंक (३.०६ प्रतिशत) बढेको छ । सो वृद्धिपछि नेप्से २६७७ अंकमा पुगेको छ ।

कारोबार सुरु हुँदादेखि नै बढेको बजारले दिनभर नै उकालो गति लियो । बन्द हुँदाको अंक नै कारोबार अवधिभरको उच्चतम अंक पनि हो । शुक्रबारसहित लगातार चौथो दिन बजार बढेको छ । आजको वृद्धि अंक भने चैत २३ यताकै उच्च हो ।

कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ४ अर्ब ५६ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५३ करोडको भयो । अघिल्लो दिन १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै कारोबार भएकाले समग्र कारोबार उच्च देखिएको थियो । तर आज जम्मा ६१ लाखको ऋणपत्र मात्रै कारोबार हुँदा समग्र कारोबार न्यून देखियो ।

आज २५७ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो भने ३ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । जलविद्युत्, लगानी र उत्पादन समूह ४ प्रतिशतभन्दा धेरै बढे ।

बैंकिङ २.४१, विकास बैंक २.१८, फाइनान्स ३.३९, होटल तथा पर्यटन ३.६६, जलविद्युत् ४.५८, लगानी ४.१२, जीवन बीमा २.७४, उत्पादन तथा प्रशोधन ४.६०, माइक्रोफाइनान्स १.८०, निर्जीवन बीमा २.११, अन्य २.७७ तथा व्यापार ०.८३ प्रतिशत बढे ।

दुई कम्पनी श्रीनगर एग्रिटेक र सुर्यकुन्ड हाइड्रोको मूल्य १५ प्रतिशत बढ्यो । शिखर पावरको १२.५४, रिजलाइन इनर्जीको १२.०६, मिडसोलु हाइड्रोपावरको १२.०५, सिटी होटलको ११.९९, थ्रीस्टार हाइड्रोपावरको १०.९६, भुजुङ हाइड्रोपावरको १०.७२ तथा नेसनल हाइड्रोपावरको १०.७० प्रतिशत मूल्य बढ्यो ।

आत्मनिर्भर लघुवित्तको मूल्य १५ प्रतिशत घट्यो । फस्र्ट माइक्रोफाइनान्सको ८.७२ तथा कर्पोरेट डेभलपमेन्टको ४.१७ प्रतिशत मूल्य घट्यो । धेरै कारोबार भएका कम्पनीमा आँखुखोला जलविद्युत्, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर र ङादी ग्रुप छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर