सरकारले वस्तु तथा सेवा खरिद गर्दा बिल लिने संस्कृतिलाई प्रोत्साहन गर्न दैनिक र पाक्षिक नगद उपहार योजना ल्याएको छ । नयाँ व्यवस्थाअनुसार अब बिल लिने उपभोक्तामध्ये हरेक दिन एक जनाले एक लाख ३३ हजार ३४ रुपैयाँ जित्नेछन् भने महिनामा दुई जनाले जनही १० लाख रुपैयाँको बम्पर उपहार पाउनेछन् ।
अर्थ मन्त्रालयले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो । यो कार्यक्रम नेपाल सरकारको स्वीकृत बजेटमार्फत् सञ्चालन हुने छ ।
मन्त्रालयका अनुसार कर प्रणालीमा आबद्धता बढाउने, वस्तु तथा सेवा खरिद–बिक्रीको वास्तविक अभिलेखीकरणलाई प्रोत्साहन गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो ।
कार्यविधिअनुसार नेपालभित्र आफ्नै प्रयोजनका लागि एक पटकमा १०० रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछन् ।










