नेकपा (एमाले)बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले राजीनामा दिएका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरूले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका हुन् ।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमालेको निर्णय तथा वर्तमान राजनीतिक परिस्थितिलाई दृष्टिगत गर्दै आजकै मितिदेखि लागू हुने गरी हाम्रो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले पदबाट संयुक्त रूपमा राजीनामा दिएको हुँदा सोही ब्यहोरा अवगत गराउँदै उक्त राजीनामा स्वीकार गरी आवश्यक संवैधानिक तथा कानुनी प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध गर्दछु,’ राजीनामा पत्रमा भनिएको छ ।
बागमती सरकारमा एमालेबाट कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ सहभागी थिए ।










