वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । गत शनिबार अस्पतालमा भएको तोडफोड, चिकित्सकमाथिको कुटपिट तथा त्यसपछिको घटनामा प्रशासनले दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले प्रमुख जिल्ला अधिकारी ९सीडीओ० र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा मागेका छन् ।
नारायणी अस्पतालमा कार्यरत चिकित्सक डा. उदयनारायण सिंहका अनुसार अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन् । बाँकी चिकित्सकको हस्ताक्षर संकलन भइरहेको र सबैले राजीनामा दिने तयारीमा रहेको उनले बताए ।
सिंहका अनुसार सोमबार स्वास्थ्य मन्त्रालयले आकस्मिक सेवा सञ्चालन गर्न आग्रह गरेपछि चिकित्सकहरू सकारात्मक बनेका थिए ।
चिकित्सकमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गरिने आश्वासन पाएपछि उनीहरू वार्ताका लागि सीडीओ कार्यालय पुगेका थिए । तर, त्यहाँको वातावरण एकाएक तनावपूर्ण बनेको उनको दाबी छ ।










