नेपाली क्रिकेटका लेजेन्ड तथा विश्व कीर्तिमानी अलराउन्डर मेहबुब आलम प्रतिष्ठित एसियन लिजेन्ड्स लिग सिजन–२ मा सहभागी हुने भएका छन् ।

यूएईको वर्ल्ड स्पोर्ट्स ग्रुपको आयोजनामा यस प्रतियोगिता जुलाई ३० देखि अगस्ट १० सम्म जाम्बियामा सञ्चालन हुनेछ । त्यसका लागि आलम जुलाई २९ मा जाम्बियातर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

मेहबुब आलमले एसियन स्टार्स टोलीबाट एसियन लिजेन्ड्स लिग सिजन–२ खेल्नेछन् । यस टोलीको कप्तानी श्रीलंकाका पूर्वकप्तान तिलकरत्ने दिल्शानले गर्नेछन् ।

मेहबुब आलम नेपाली क्रिकेट इतिहासका सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन् । उनले सन् २००८ मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–५ अन्तर्गत मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १२ रन खर्चेर सबै १० विकेट लिएर विश्व क्रिकेटमा इतिहास रचेका थिए ।

सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा एक्लैले विपक्षी टोलीका सबै १० विकेट लिने उनी पहिलो खेलाडी बनेका थिए, जसका कारण उनको नाम गिनिज वर्ल्ड रेकर्ड्स मा रहेको छ ।

नेपालका तर्फबाट आलमको सहभागिता नेपाली क्रिकेटका लागि गर्वको विषय बनेको छ । एसियन लिजेन्ड्स लिग जस्तो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मेहबुब आलमको सहभागिताले नेपाली क्रिकेटलाई विश्व मञ्चमा थप चिनाउने विश्वास गरिएको छ ।

प्रतियोगितामा क्रिकेट जगतका चर्चित पूर्वअन्तर्राष्ट्रिय खेलाडीहरू युसुफ पठान, अम्बाती रायुडु, शाकिब अल हसन, उपुल थरंगा, तिलकरत्ने दिलशान लगायतका दिग्गज खेलाडीहरूको सहभागिता हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर