सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा विकास अर्थशास्त्री तथा सार्वजनिक नीतिविज्ञ याङ्की उक्याबलाई नियुक्त गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्याबलाई बोर्डको नेतृत्व सुम्पिने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। नवनियुक्त सीईओ उक्याब विकास अर्थशास्त्र र सार्वजनिक नीतिको क्षेत्रमा लामो अनुभव सँगालेका विज्ञ मानिन्छन्।

यसैबीच, मन्त्रिपरिषद् बैठकले शिक्षा, यातायात, प्रशासन तथा जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरूसमेत गरेको छ। बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा प्रा. खड्गबहादुर केसी र सचिव पदमा प्रा. डा. रोजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यस्तै, तथ्यांक पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्नुका साथै बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक २०८३ लाई संघीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ। पशु बधशाला र मासु जाँच ऐन, २०५५ लाई चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय पनि सरकारले गरेको छ।

प्रशासनिक पुनर्संरचनातर्फ नेपाल इन्टरमोडलयातायात विकास समिति गठन आदेश २०५४ खारेज गर्दै उक्त समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिइएको छ।

यसैगरी, सुनसरी र सिराहा जिल्लामा हालै भएका प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने र घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर