नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न कांग्रेसले पदाधिकारी बैठक बोलाएको हो ।
कांग्रेस महामन्त्री प्रदीप पौडेलले पदाधिकारी बैठक बिहान ११ बजेपछि बस्ने जानकारी दिएका छन् । कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठक अघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ ।
आइतबार कांग्रेसको केन्द्रीय कायसमिति बैठक बस्दैछ । संस्थापन इतर समूहले २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक राखेर छलफल गर्ने तयारी गरेको हो ।
भेला अघि पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल घोषणासम्म हुने इतर समूहका नेताहरू बताउँदै आएका थिए ।
तर, सर्वोच्च अदालतले आधिकारिकतासम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेसँगै कांग्रेसमा तत्काल पार्टी विभाजन हुने सम्भावना कमजोर बनेको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले बिहीबार कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद फेरि सुरुदेखि नै सुनुवाइ गर्न आदेश दिएको थियो ।










