लोकप्रिय हास्य कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले गाईजात्रे कमेडी ‘बालेन सरकार’ ल्याएका छन् । यस वर्ष २०८३को हास्यव्यङ्ग्यको पर्व ‘गाईजात्रा’लाई लक्षित गर्दै उनले देशको समसामयिक विषय, राजनीति र नेताहरूमाथि व्यङ्ग्य प्रहार गरी यो कोसेली बजारमा ल्याएका हुन् ।

‘बालेन सरकार’मा उनले सरकारलाई सल्लाह र सुझाव दिँदै खबरदारी गरेका छन् भने गत फागुन २१ को निर्वाचनलाई कटाक्ष समेत गरेका छन् । समग्र नेपालीहरूको बानीव्यवहोरामाथि समेत प्रहार गरिएको यो कोसेली ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ ।

विगत २३ वर्षदेखि नियमित रूपमा व्यङ्ग्यका कोसेली ल्याउँदै आएका उनले दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र चेतना प्रवाह गर्ने उद्देश्यले ‘बालेन सरकार’ ल्याएको बताएका छन् ।‘गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव हो ।

अहिले यस्ता कोसेलीको व्यावसायिकता त छैन,’ रिजालले भने, ‘तर बर्सेनि दर्शक(श्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ । त्यसैले दर्शकको मायाका कारण आम्दानी नभए पनि यसलाई निरन्तरता दिँदै आएको छु ।’

लेखन, निर्देशन र प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘बालेन सरकार’मा झलकमान गन्धर्वको चर्चित गीत ‘आमाले सोध्लिन् नि’को प्यारोडी समेत समावेश गरिएको छ, जसमा लोकप्रिय लोकदोहोरी गायक राजु परियारको स्वर रहेको छ ।

लोकराज अधिकारीको शब्द र अष्ट लामाको सङ्गीत संयोजन रहेको उक्त प्यारोडीमा एमाले, काङ्ग्रेस, माओवादीका साथै देशका सम्पूर्ण राजनीतिक दलहरूमाथि व्यङ्ग्य गरिएको छ । यस कोसेलीमा समन अधिकारीको कोरियोग्राफी, प्रेम शर्माको सम्पादन र हरि ढकालको छायाङ्कन रहेको छ भने पोस्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

बालेन सरकार’ रिजालको २३ औँ कोसेली हो । गत वर्ष उनले ‘मिस चौरासी’ ल्याएका थिए, जसको राम्रो चर्चा भएको थियो । वि.सं .२०६१ देखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यव्यङ्ग्य कार्यक्रम गर्नु र प्रस्तुति ल्याउनुलाई हास्य कलाकारको धर्म नै मान्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर