उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको आगमनका कारण स्थिति असामान्य बनेको बताएका छन्।

सोमबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले घटनामा ईपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक नरहेको र सुरक्षा कमजोरी भएको स्वीकार गरे।

उनले आन्दोलनको जानकारी भइसकेपछि पनि मन्त्री ज्वाला सोही बाटो भएर आउनुले घटना थप असामान्य बनेको बताए। मन्त्री ज्वालाले आन्दोलनकारीहरूसँग सवालजवाफ गरेको, त्यसपछि धकेलाधकेल भएको र प्रहरीले गोली चलाएको अवस्था प्रारम्भिक अध्ययनबाट निकालिएको उनले जानकारी दिए। उनले फायरिङपछि मात्रै गाडी जलेको देखिएको बताए।

बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरे। छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनको माग छ।

उनले भने- घटनाको छानबिनका लागि समिति पनि बन्यो, तलका मान्छेलाई कारबाही पनि भयो। अब यसो गरौं- मन्त्रीज्यू तपाईं राजीनामा दिनुस्। सबैभन्दा राम्रो कुरा तपाईं राजीनामा दिनुस्। राजीनामा दिनैपर्‍यो नि ! विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी-ताकी गोली हाल्ने तपाईंले राजीनामा नदिए कसले दिन्छ?

बैठकमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले मन्त्री बालकुमारीको बाटो हुँदै यात्रा गर्दा प्रदर्शनकारी उग्र बनेको र दुई जनाको ज्यान जाने गरी घटना भएको बताए। बालकुमारीमा मन्त्रीको गाडी नगएको भए त्यो हदसम्मको घटना नहुने उनको भनाइ छ।

बालकुमारीमा गोली चलेको तर कतिबेला चलेको भन्ने यकिन नभएको उनले बताए। घटनाबारे संसदीय समितिलाई जानकारी गराउँदै महानिरीक्षक कुँवरले भने, ‘मन्त्रीको गाडी नआएको भए यस्तो घटना हुने थिएन।’ मन्त्रीलाई सुरक्षित राख्न बल प्रयोग गर्नुपरेको उनले बताए।

नका अनुसार तीन हजार युवा प्रदर्शनमा उत्रिएका थिए। उनीहरुसँगको झडपमा परी ८ जना प्रहरी घाइते भएको उनले बताए। प्रदर्शन रोक्ने क्रममा साढे ११ बजे सामान्य बल प्रयोग भएको, ११:५२ मा मन्त्री ज्वाला चढेको गाडी कोटेश्वरतर्फ जाँदै गर्दा बालकुमारीमा आइपुगेको र त्यो बेलामा पीएसओले फिल्डमा रहेका प्रहरीहरुसँग समन्वय नगरेको महानिरीक्षक कुँवरले बताए। ११:५४ मा हातपात हुने अवस्था आएपछि पिएसओले मन्त्रीलाई सुरक्षित स्थानमा लगेको र १२ बजे मन्त्रीको गाडीमा आगजनी भएको उनले जानकारी दिए।

कम बल प्रयोग गरेर जाने नीतिअनुसार प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आए पनि काम गर्ने क्रममा सञ्चार सेटलगायत साधनस्रोतको कमी भएको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर