प्यूठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा माडी र लुङ्ग्री खोला किनारमा बिहीबार चार जनाको शव फेला परेको छ ।
फेला परेका शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।
उनका अनुसार स्वर्गद्वारी नगरपालिका–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षीय बालकको शव फेला परेको छ । त्यस्तै, स्वर्गद्वारी–३ किमिचौरस्थित माडी खोलाको किनारमा कम्मरभन्दा माथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।
स्वर्गद्वारी–४ गोठीबाङमा पनि एक महिलाको शव फेला परेको छ । यसैबीच, बिहान करिब ९:३० बजे स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा टाउको र बायाँ खुट्टा नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।
स्थानीयले शव फेला परेको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय भिङ्ग्रीबाट प्रहरी नायब निरीक्षक हस्ते घर्तीमगरको कमान्डमा सात जना, प्रहरी चौकी लामाचौरबाट प्रहरी सहायक निरीक्षक शिवलाल पौडेलको कमान्डमा चार जना र इलाका प्रहरी कार्यालय बिजुवारबाट प्रहरी निरीक्षक महेश्वरी विष्टको कमान्डमा सोकोसहित १० जनाको टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र शवहरूको पहिचान तथा मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।










