जाजरकोटमा अविरल वर्षापछि तासुघाट खोलामा आएको बाढीले सडक तथा झोलुङ्गे पुलमा क्षति पुर्याएको छ।
बाढीका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ भने नलगाड नगरपालिका–१० रोलीमा झोलुङ्गे पुलका साथै केही घर तथा टहरा बगाएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय रग्दा जाजरकोटका अनुसार अविरल वर्षाका कारण नलगाड नगरपालिका–१० तासुघाट खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि तत्कालका लागि वैकल्पिक बाटोसमेत नरहेको प्रहरीले जनाएको छ।
पुलमा क्षति पुगेका कारण प्रारम्भिक जानकारीपछि घटनास्थलतर्फ गएको प्रहरी टोलीसमेत तत्काल पुग्न नसकेको प्रहरीको भनाइ छ ।
घटनाबारे बज बिहान साढे ६ बजे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रग्दाबाट प्रहरी सहायक निरीक्षक दिनेश सुनारको कमाण्डमा चार जनाको टोली घटनास्थलतर्फ खटाइएको थियो। तर, झोलुङ्गे पुल बगिसकेका कारण टोली घटनास्थलसम्म पुग्न नसकेको प्रहरीले जनाएको छ।
अहिले घटनास्थलमा थप सशस्त्र र प्रहरीको टोली खटाइएको छ । घटनाको क्षतिको थप विवरण आउन बाँकी रहेको छ। घटनास्थल इलाका प्रहरी कार्यालय रग्दाबाट करिब एक किलोमिटर पश्चिममा पर्छ।










