राप्रपा महामन्त्री परित्याग गरेका पूर्वसांसद धवल शम्शेर राणाले आज जय नेपाल पार्टी दर्ता गर्ने भएका छन्।
नेता सगुनसुन्दर लावतीका अनुसार आज मध्याह्न साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोग जाने कार्यक्रम तय भएको छ। पार्टीको नाम जय नेपाल पार्टी र चुनाव चिह्न त्रिभुज प्रस्ताव गरिएको उनले जानकारी दिए।
यो पार्टीमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरी धवल शम्शेर राणासँगै नयाँ पार्टी बनाउन होमिएका दुर्गा प्रसाईं भने आज दल दर्ता कार्यक्रममा सहभागी हुने सम्भावना कम छ।
प्रसाईंनिकट नेताहरूका अनुसार आज उनीहरू दल दर्ताका लागि निर्वाचन आयोग जाने छैनन्। बेग्लै दल बनाउने गृहकार्य भइरहेको छ। राणा र प्रसाईंबीच पार्टीका कतिपय विषयमा कुरा मिलेको छैन। प्रसाईंले केही कार्यकारी अधिकार आफूलाई दिनुपर्ने र पार्टीमा आफू एक नम्बर वरीयतामा हुनुपर्ने भनेपछि मतभेद उत्पन्न भएको थियो।
धवल शम्शेर अध्यक्ष र प्रसाईं सर्वोच्च नेता बनाउने यसअघि समझदारी थियो। मतभेदबीच हालै दुर्गाले धवल शम्शेर लक्ष्य गरी अन्तर्वार्ता पनि दिएका थिए, जसमा ‘राणाहरू राजा ल्याउन चाहँदैनन्’ भन्ने विषय उल्लेख थियो। त्यसमा धवल शम्शेर पक्षले प्रसाईंसँग चित्त दुखाएको थियो।
प्रसाईंसँग बिहीबारसम्म पनि कुराकानी भइरहेको र केही दिनमा थप कुराकानी गरिने नेता लावतीले बताए। ‘आज पार्टी दर्ता गर्न जान्छौं, प्रसाईंजीहरूसँग हिजोसम्म पनि कुराकानी भइरहेको छ, दर्ताका लागि निवेदन दिएपछि थप कुराकानी हुन्छ,’ उनले भने।
प्रसाईंले भने आफूहरूले बेग्लै पार्टी खोल्ने संकेत गरेका छन्। ‘राजसंस्था र हिन्दु राष्ट्र’ का लागि भन्दै राणा र प्रसाईंले करिब दुई महिना सहकार्य गरेका थिए। प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा बेग्लै पार्टी खोल्ने उल्लेख गरेका छन्। ‘अब बन्ने हाम्रो पार्टी सबै नेपाली नागरिकहरूको, सबै जातजाति र सबै धर्मको साझा पार्टी बन्नेछ।
वैदिक सनातनी हिन्दु अधिराज्य सहितको यो पार्टी देशका पीडित, शोषित, उत्पीडित तथा आम नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ,’ उनले भनेका छन्, ‘केही समय धैर्य गर्नुहोला, तपाईं हाम्रो पार्टी छिट्टै खुल्नेछ।’










