नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीलाई प्रभावकारी राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न आन्तरिक एकता, संस्थागत निष्ठा र वैचारिक प्रतिबद्धता बलियो बनाउनुपर्ने बताएका छन्। लोकतान्त्रिक व्यवस्था सुदृढ बनाउँदै मुलुकको विकास र समुन्नतिको गति बढाउन काँग्रेसभित्रको संस्थागत सुधार आवश्यक रहेको उनको भनाइ छ।
शुक्रबार ललितपुरको सानेपास्थित काँग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा धारणा राख्दै शर्माले पार्टीभित्र उत्पन्न मतभेद र असहज परिस्थितिलाई व्यवस्थापन गर्दै संगठनलाई एकताबद्ध ढंगले अघि बढाउनुपर्ने बताए।
उनले विशेष महाधिवेशनबाट व्यक्त भएको नेता तथा कार्यकर्ताको भावना आगामी दिनमा पार्टी सुदृढ गर्ने आधार बन्ने विश्वास व्यक्त गरे। व्यक्तिगत सम्बन्ध र राजनीतिक समीकरणभन्दा पार्टीको संस्थागत मर्यादा तथा सिद्धान्तलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
शर्माले व्यक्ति र संस्थामध्ये कुनै एकप्रति मात्र निष्ठा देखाउनुपर्ने अवस्था आए पार्टी र मुलुकको हितलाई पहिलो स्थानमा राख्नुपर्ने धारणा राखे। काँग्रेसको संस्थागत मूल्य, विधान र सिद्धान्तप्रति प्रतिबद्ध भएर अघि बढ्न उनले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।
गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकसम्बन्धी निर्णयलाई सदर गर्दै रिट खारेज गरेको प्रसंग उल्लेख गर्दै शर्माले उक्त फैसलालाई कुनै पक्षको विजय वा पराजयका रूपमा व्याख्या गर्न नहुने बताए। अदालतको निर्णयपछि नेतृत्वले ४८ घण्टाभित्रै संवाद अघि बढाएको जानकारी पनि उनले दिए।
उनका अनुसार पार्टीभित्रको विवाद समाधानका लागि जेठ १६ गते नै सातबुँदे लिखित प्रस्ताव नेतृत्वसमक्ष पठाइएको थियो। आन्तरिक विषय भएकाले त्यसलाई तत्काल सार्वजनिक नगरी संयम र परिपक्वताका साथ अघि बढाइएको र पछि जेठ ३१ गते सार्वजनिक गरिएको उनले बताए।
शर्माले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा काँग्रेसले राष्ट्रिय राजनीतिमा प्रभावकारी र सबल भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। पार्टीको वर्तमान नेतृत्वलाई लिएर आफू स्पष्ट र दृढ रहेको उनको भनाइ थियो।
राजनीतिक प्रकृतिका विषयको समाधान मूलतः राजनीतिक संवाद र प्रक्रियाबाटै खोजिनुपर्ने भए पनि आवश्यक अवस्थामा कानुनी प्रक्रियाको सहारा लिन सकिने शर्माले बताए। यस्ता विषयलाई पार्टीको विधान, नेपालको संविधान तथा काँग्रेसको ऐतिहासिक निरन्तरतासँग जोडेर समाधान गर्नुपर्नेमा उनले जोड दिए।










