नेपाली तीर्थयात्री सवार बस भारतमा दुर्घटना हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार रौतहटबाट बाबा वैद्यनाथ धाम र बासुकी नाथको दर्शन तथा पूजा गरेर फर्कने क्रममा झारखण्ड राज्यको कोडरमा जिल्लास्थित पोखरडीहा मोड नजिकै बस दुर्घटना भएको हो ।
ट्रकसँग बस ठोक्किएर दुर्घटना भएको बताइएको छ । मृतक तीन जनामध्ये एक १२ वर्षीय बालक रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अन्य दुई मृतकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटनामा करिब ५० जना घाइते रहेको र केहीको अवस्था गम्भीर रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।










