भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आज काठमाडौं आउँदैछन् । उनी आज अपराह्न चार बजेतिर काठमाडौं आइपुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थाल्नुलाई कतिपयले अर्थपूर्ण रूपमा लिएका छन् ।
काठमाडौं बसाइँको क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्तासमेत गर्ने तयारी छ ।
२०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आउन लागेका हुन् ।
उनको काठमाडौं बसाइँको कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेका छैनन् ।
यद्यपि उनले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने, प्रधानसेनापति अशोकराज सिग्देलसँग आपसी सहयोगका विषयमा दुईपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
साथै राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम छ ।










