जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । शनिबार बेलुकी पहिरोमा परेर बेपत्ता भएका तीन जनाको सब आइतबार बिहान फेला परेसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो ।
यसअघि पहिरोमा परेर घाइते भएका एक जनाको उपचारका क्रम्मा मृत्यु भएको थियो । पहिरोमा परेर मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् ।
उपचारका क्रममा भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिए । उनका अनुसार पहिरोमा परी ६ जना घाइते भएका छन् ।
प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । ३० साउन दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन् । यस्तै, भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् ।
आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै उनलाई मेडिकल कलेज कोहलपुर लगिएको छ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि ३१ साउन बिहान ७:१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ। भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् ।
उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ। यसैगरी, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्।










