लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । प्रदेशसभा सचिवालयले आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको आठौँ अधिवेशनको १९औँ बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने जानकारी गराएको हो ।
सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनेछन् । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूलाई प्रदेशसभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्नेछन । मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि उक्त प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुनेछ । छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्न तथा जिज्ञासाको मुख्यमन्त्री आचार्यले जवाफ दिनेछन् । मुख्यमन्त्रीको जवाफपछि सभामुखले विश्वासको मतसम्बन्धी प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा हाल ८३ सांसद छन् । तीमध्ये एमालेका २९, कांग्रेसका २७, नेकपाका १३ (सभामुखसहित), जसपा नेपालका २, राप्रपाका ४, जनमत पार्टीका ३, लोसपाका २ तथा जसपा, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक–एक सांसद छन् । सरकार गठनका लागि आवश्यक बहुमतका लागि ४२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।










