ललितपुर महानगरपालिकाले आपत्कालीन अवस्थाका बिरामीलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने उद्देश्यका साथ चिकित्सकसहितको एम्बुलेन्स सेवा सुरु गरेको छ।

सोमबार आयोजित एक कार्यक्रमका बिच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उक्त निःशुल्क सेवाको शुभारम्भ गरेकी हुन्।मन्त्री मेहताले ललितपुर महानगरपालिकाले चिकित्सकसहितको एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएर उदाहरणीय कामको सुरुआत गरेको बताएकी छन्।

‘एम्बुलेन्स सेवा दिनु ठुलो कुरा होइन, धेरै नगरपालिकाहरूले प्रदान गरिरहेकै छन्,’ मन्त्री मेहताले भनिन्, ‘तर एम्बुलेन्स सेवामा पारामेडिक्स मात्र नभई मेडिकल अफिसरसहितको सेवा सुरु गर्नु संसारकै थोरै देशहरूमा मात्र छ। त्यसमध्ये ललितपुर महानगरपालिकाले यो सेवा सुरु गर्नु सबैका लागि गर्वको कुरा हो।’

आकस्मिक उपचारमा ‘गोल्डेन टाइम’ महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले ट्राफिक जाम वा अन्य अवरोधका कारण अस्पताल पुग्न ढिलाइ हुँदा बिरामीको अवस्था जटिल बन्ने गरेको बताइन्। प्राविधिक वा यातायातका अवरोधका बिच स्वास्थ्यकर्मीले घटनास्थलमै पहिलो उपचार दिन सके ठुलो दुर्घटनाबाट जोगाउन सकिने उनको भनाइ छ।

ललितपुर महानगरपालिकाको स्वास्थ्यसम्बन्धी पहलमा मन्त्रालयले आवश्यक सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाएकी छन्।पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. नविशमानसिंह प्रधानले चिकित्सकसहितको एम्बुलेन्स सेवा बिरामीको अस्पताल पुग्नु अगाडिको (प्रि-हस्पिटल केयर) हेरचाह सुधार गर्ने महत्त्वपूर्ण पहल भएको बताएका छन्।

‘चिकित्सकसहितको एम्बुलेन्स भन्ने नयाँ अवधारणा हो,’ डा. प्रधानले भने, ‘संसारभर दुई-तीनवटा देशमा मात्र यस्तो व्यवस्था होला, अरू सबैमा पारामेडिक्सहरू हुन्छन्। ललितपुर महानगरपालिकाले सुरु गर्न लागेको यो प्रयास एकदमै सराहनीय छ।’

उपकुलपति डा. प्रधानका अनुसार साउन महिनामा मात्रै महानगरसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य केन्द्रबाट १० हजार ४१ जना बिरामीले सेवा लिएका छन्, जसमध्ये करिब ३ हजार जनाले अल्ट्रासाउन्ड सेवा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर