सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेका हुन्।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीमा रहेको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदका जिज्ञासा तथा प्रश्नको जवाफ दिन रुलिङ गरेका हुन्।
सांसदहरूले समसामयिक विषय तथा सरकारको कार्यशैलीबारे पटक–पटक प्रश्न उठाउँदै आए पनि सरकारका तर्फबाट त्यसको पर्याप्त सम्बोधन नभएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेका हुन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा नियमावलीका नियम ५६, ५७, ५८ र ५९ बमोजिम सांसदहरूले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ दिन प्रधानमन्त्रीलाई रुलिङ गरे।
बैठकमा उनले भने, ‘प्रतिनिधि सभा नियमावलीको नियम ५६, ५७, ५८ र ५९ मा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिन म प्रधानमन्त्रीज्यूलाई रुलिङ गर्दछु।’
प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ। त्यस्तै, नियम ५७ देखि ५९ सम्म प्रश्नको सूचना, मर्यादा तथा जवाफ दिने प्रक्रियासम्बन्धी व्यवस्था गरिएको छ।
पछिल्लो समय सदनमा सांसदहरूले उठाएका प्रश्नको सरकारका तर्फबाट जवाफ नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सोही विषयलाई सम्बोधन गर्दै सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भई सांसदका प्रश्नको जवाफ दिनरुलिङ गरेका हुन्।










