लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा उनले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ र विपक्षमा २६ मत परेको हो।
कायम रहेको ८३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४२ मत आवश्यक थियो। मतदानमा ७१ सांसद सहभागी भएका थिए। प्रस्तावको पक्षमा परेको ४५ मत बहुमत भएकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको सभामुख तुलाराम घर्तीमगरले घोषणा गरे।
मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले विश्वासको मत दिएका छन्।
उनको पक्षमा एमालेका २९, नेकपाका ११, जसपा नेपालका चार र राष्ट्रिय जनमोर्चाका एक सांसदले मतदान गरे। नेपाली काँग्रेस र जनमत पार्टीले प्रस्तावको विपक्षमा मतदान गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी तटस्थ बसेको छ।
जसपा नेपालको केन्द्रीय नेतृत्वले सरकारबाट बाहिरिन निर्देशन दिए पनि प्रदेश संसदीय दलले सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो। बहुमतका लागि आवश्यक ४२ मतमध्ये जसपा नेपालका चार सांसदको समर्थन निर्णायक बनेको छ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा अनुराग खड्का, अम्बिका काफ्ले, आशिषकुमार चौधरी, खड्ग बस्नेत, धनलक्ष्मी श्रेष्ठ, निर्मलादेवी थारु, माया पुन र सरोज थापा अनुपस्थित थिए।
सत्तारूढ नेकपाका एक सांसद विदेशमा रहेका कारण बैठकमा सहभागी हुन नसकेको जनाइएको छ। जसपा नेपालकी सांसद अम्बिका काफ्ले पनि अनुपस्थित थिइन्। बैठकमा तीन सांसद तटस्थ बसेका थिए।










