सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पार्टीका सांसद र सरकारमा सहभागि मन्त्रीहरुलाई कडाइ गर्ने तयारीमा लागेका छन् । पार्टीका मन्त्री तथा सांसदहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिलाई लिएर पछिल्लो केहिदिन यता सभापति लामिछाने असन्तुष्ट रहेको उनीनिकट एक नेताले बताए ।
त्यसैकारण सभापति लामिछानेले बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफलका लागि सांसद र मन्त्रीहरूलाई अनिवार्य उपस्थित रहन भन्दै मंगलबार निर्देशन दिइएको थियो । केही समयअघि सुरु भएको छलफलमा सांसदहरुलाई सदनमा अवलम्बन गर्ने व्यवहार र भाषाप्रति विशेष ध्यान दिन निर्देशन दिइएको छ ।
पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना गरिएको हो ।
सभामुख डोल प्रसाद अर्याललाई नटेर्ने, मन्त्रीको जवाफमा चित्त नबुझाउने सांसद र सांसदको प्रश्नमा जवाफको साटो धम्की दिने मन्त्रीहरुलाई सदनमा संयमित र मर्यादित भएर प्रस्तुत हुन सभापति लामिछानेले ध्यानाकर्षण गराएका छन् । उनले पार्टीको नीति अनुसार चल्न पनि निर्देशन दिइएको र पार्टीको नीति विपरित लाग्ने , सभामुखलाई नटेर्ने सांसदहरुलाई कारबाहीको चेतावनी दिइएको छलफलमा सहभागि एक नेताले बताए ।










