हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनको प्रभावले बुधबार बिहान कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पानी परिरहेको छ। झापाको अर्जुनधारामा पछिल्लो एक घन्टामा १६ मिलिमिटर वर्षा मापन भएको छ।
त्यस्तै पाल्पाको बलड्याङगढीमा ५.८ मिलिमिटर, दाङको बगासोतीमा ७.८ मिलिमिटर र गुल्मीको तम्घासमा ४ मिलिमिटर वर्षा पछिल्लो एक घन्टामा मापन भएको छ। बुधबार दिउँसो देशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै देशका पहाडी भू-भागका धेरै स्थानमा, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
दिउँसो नै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ| कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार राति देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने पूर्वानुमान छ।
राति नै कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने, हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थान, मधेश तथा बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराईका थोरै स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।










