काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ ।
दाङको घोराही उपमहानगरपालिका – १७ घर भई हाल उक्त होस्टलमा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका – ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए ।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो । टाउको र घाँटीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेलको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको छ ।










