बाराको जितपुरसिमरा– १ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीलाई न्याय माग्दै बुटवलमा महिलाहरूले प्रदर्शन गरेका छन् ।

गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमाको हत्या भएको अवस्थामा भेटिएको थियो ।

सोही घटनाको विरोधमा महिला अधिकारकर्मीहरूले शनिबार बुटवलमा प्रदर्शन गरका हुन् ।

ट्राफिकचोकबाट सुरु भएको विरोध प्रदर्शन उच्च अदालत तुल्सीपुर बुटवल इजलास मार्ग हुँदै इलाका प्रहरी कार्यालय बुटवलसम्म पुगेको थियो ।

ठूलो संख्यामा रहेका महिलाहरूले इलाका प्रहरी कार्यालय गेट बाहिर घटनाको विरोधमा नाराबाजी गर्दै गरिमालाई न्याय दिन माग गरे । प्रदर्शनका सहभागीले बलात्कारीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।

गत साउन ३१ गते बिहान साढे ८ बजे घरबाट बेपत्ता भएकी गरिमा मंगलबार साँझ जितपुर–सिमरा– १, भक्तिनगरस्थित वीरबहादुर रोकाको टायलले छाएको एकतले घरको खाली कोठाभित्र मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गरिमा घरबाट बेपत्ता भएपछि उनलाई जितपुरसिमरा– २ बस्ने १६ वर्षीय सुमन थापाले चकलेट दिएर ललाइफकाई गरेको र घटनास्थलमा लगेको खुलेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १६ वर्षीय सुमन थापा र ना १ ज ७७५८ नम्बरको म्याजिकका धनी जितपुर–सिमरा– १ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेको छ ।

घटनाको वास्तविक कारण, घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको तथा घटनाको विस्तृत विवरणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर