ललितपुरको बालकुमारीमा शुक्रबार भएको प्रदर्शनमा मृत्यु भएका व्यक्तिका परिवार र सरकारबीच चारबुँदे सहमति भएको छ। गृहमन्त्रालयमा आज भएको छलफलपछि सरकार र पीडित पक्षबीच मृतकका परिवारका १/१ जना सदस्यलाई उपयुक्त खालको रोजगारी यथाशीघ्र उपलब्ध गराउने सहमति भएको हो।

दुई पक्षबीच सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउनका लागि यथाशीघ्र आवश्यक सहजीकरण गर्ने, मृतकलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतकका परिवारले आजै शव बुझिलिने र शव सम्बन्धित जिल्लामा पुर्‍याउन गृह मन्त्रालयले पहल गर्ने सहमति भएको छ।

सो सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका उपसचिव उमाकान्त अधिकारी र मृतक परिवारका तर्फबाट टेकबहादुर शाह र टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन्।

बालकुमारीस्थित रोजगार अनुमति प्रणाली(इपिएस) कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनका क्रममा शुक्रबार अछाम चौरपाटी गाउँपालिका–१ का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका–६ का सुजन राउतको मृत्यु भएको थियो।

सरकारले आजै उक्त घटनाको निष्पक्ष र वस्तुगत छानबिनका लागि उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरुण विसी र गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई सदस्य रहेको जाँचबुझ आयोग गठन गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर