हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार बिहान गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ। पछिल्लो एक घन्टामा कपिलवस्तुको भगवानपुरमा ८.८ मिलमिटर र म्याग्दीको कुहुनमा ५ मिलिमिटर वर्षा मापन भएको छ।
पछिल्लो चौबीस घन्टामा सिन्धुपाल्चोकको गोब्रेमा १३६ मिलमिटर, बोल्डेमा ८७.८ मिलिमिटर, ललितपुरको गोदावरीमा ५५.४ मिलिमिटर, इलामको माइपोखरीमा ७८.४ धनुषाको हार्दिनाथमा ५५.४ मिलिमिटर वर्षा मापन भएको छ।
आइतबार दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने महाशाखाले जनाएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान छ। आइतबार राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।










