गरिमा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको सञ्चालक समितिको २०८३ भदौ १८ गते बसेको ३५१औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पुँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा को १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर तथा नगद लाभांशको करसहित) वितरण गर्नेछ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई बैंकको आगामी २०औँ वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ।
प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढेर रु. ६ अर्ब ६२ करोड ३४ लाख ८३ हजार २ सय ३ रुपैयाँ ९४ पैसा पुग्नेछ।
बालुवाटार, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ वटा एटीएममार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।










