दसैंमा रिलिज हुने फिल्म ‘छ माया छपक्कै २’को शीर्ष गीत सार्वजनिक भएको छ। मंगलबार सार्वजनिक गीतले फिल्मको पारिवारिक तथा हास्य-व्यंगात्मक परिवेशलाई झल्काएको छ।

यो गीतमा करण परियार, अभि सुनार, विशाल निरौला र रश्मी विश्वकर्माको स्वर छ। शब्द तथा संगीत अभि सुनारको हो भने विशाल निरौलाले गीतको संगीत संयोजन गरेका हुन्। भिडिओमा फिल्मका अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ।

विशेषगरी दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई बेबी सावरको रमाइलो माहोलमा प्रस्तुत गरिएको छ। भिडिओमा परिवार, सन्तान र दाम्पत्य जीवनसँग जोडिएका प्रसंगलाई नृत्य तथा हास्य शैलीमा प्रस्तुत गरिएको छ। साथमा कार्म शर्मा, रिहान गिरी, रजनी केसी लगायतलाई समेत प्रस्तुत गरिएको छ।

त्यस्तै, दीपाश्री निरौला, प्रकाश घिमिरे, रमा थपलियालगायत कलाकारहरू समेत भिडिओमा देखिन्छन्।दीपेन्द्र लामाको निर्देशनमा बनेको ‘छ माया छपक्कै २’मा दीपकराज गिरी, दिपाश्री निरौला, केकी अधिकारी, सानिशा भट्टराई, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल, नविन लम्साल, विष्णु सापकोटा, रवीन्द्र झा, रजनी केसी, कार्म शाक्य, रिहान गिरी, शारदा गिरी, सन्तोष पौडेल, पार्वती अधिकारी, राधा लम्साललगायत कलाकारहरूको अभिनय छ।

फिल्मको निर्माता रोहित अधिकारी हुन्। फिल्म फूलपाती अर्थात् असोज ३१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। यो फिल्मलाई निर्माण घोषणादेखि नै प्रतीक्षित मानिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर