गृहमन्त्री सुधन गुरुङले गोरखा जिल्लमा भएका समस्या समाधान गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
गोरखाका बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूसँग अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
सहभागीहरूका गुनासा तथा सुझाव सुनेपछि गृहमन्त्री गुरुङले आफू सरकारमा आएको ६ महिना मात्रै भएको उल्लेख गर्दै गोरखाको विकास र नागरिकका समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
गोरखाले नै आफूलाई गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले जिल्लाका नागरिकका समस्या र अपेक्षालाई गम्भीरतापूर्वक लिने बताए ।
अन्तर्क्रियाका क्रममा सहभागीहरूले जिल्लामा देखिएका विभिन्न समस्या, विकास निर्माणको अवस्था, कृषि उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन तथा उद्योग–व्यवसाय क्षेत्रका चुनौतीबारे गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा सहभागी बुद्धिजीवी, उद्योगी तथा व्यवसायीहरूले गोरखा पूर्वाधार विकासमा पछाडि परेको र पर्यटकीय सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रको विकास तथा प्रवर्द्धनमा सरकारले पर्याप्त चासो नदिएको गुनासो गरेका थिए।
जिल्लाको समग्र विकासलाई गति दिन आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको माग थियो।
त्यस्तै, कृषि उत्पादनले उचित बजार र मूल्य नपाउँदा किसानहरू समस्यामा परेको विषय पनि उठाइएको थियो। सरकारले कृषि उत्पादन तथा बजारीकरणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै सहभागीहरूले नेपाली किसानले उत्पादन गरेका तरकारीले नै बजारमा प्राथमिकता पाउनुपर्नेमा जोड दिएका थिए।
स्थानीय उत्पादनले बजार नपाउने अवस्थाको अन्त्य गर्दै किसानलाई उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सरकारले ठोस पहल गर्नुपर्ने उनीहरूको भनाइ थियो।
अन्तर्क्रियामा उद्योगी तथा व्यवसायीहरूले जिल्लामा उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिएका समस्या र व्यावसायिक वातावरण सुधारको आवश्यकताबारे समेत आफ्ना धारणा राखेका थिए।
गोरखामा उपलब्ध स्रोतसाधन र सम्भावनाको सदुपयोग गर्दै आर्थिक गतिविधि विस्तार गर्न तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न राज्यको प्रभावकारी भूमिका आवश्यक रहेको विषयमा सहभागीहरूले जोड दिएका थिए।










