नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आज (कात्तिक १५) देखि सडक दस्तुर संकलन सुरू गरिएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुने गरी सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको दरअनुसार दस्तुर तिरेर मात्र आवतजावत गर्नुपर्ने व्यवस्था गरिएको हो। नागढुंगा सुरूङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सुरूङमार्ग प्रयोग गरी काठमाडौं भित्रिने तथा बाहिरिने सबै सवारीसाधनले नेपाल राजपत्रमा प्रकाशित सवारी वर्गीकरण अनुसारको दस्तुर तिर्नुपर्नेछ।

निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रूपैयाँ र बाहिरिँदा ६० रूपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, ठूला सवारीसाधनले सुरूङमार्ग प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

सुरूवाती चरणमा नगद तथा क्यूआर प्रणालीमार्फत दस्तुर भुक्तानी गर्न सकिनेछ। आगामी दिनमा आरएफआईडी कार्ड तथा ट्याग प्रणाली लागू गरी स्वचालित रूपमा दस्तुर भुक्तानी गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको आयोजना प्रमुख नेपालले जानकारी दिए।

सुरूङमार्गमा सेवा प्रदायकका कर्मचारीमार्फत दस्तुर संकलन गरिनेछ। यसरी संकलित रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ। दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्।

सडक दस्तुर लागू भएसँगै नागढुंगा सुरूङमार्ग प्रयोग गर्ने सवारीसाधनले तोकिएको शुल्कअनुसार यात्रा गर्नुपर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर